चितवन / जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात
स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ
गर्न बाँकी छ ।
कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय
तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा
सबै रोपाइँ सकिएको छ ।
ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये
भरतपुर महानगरको धानयोग्य जमीनले झण्डै आधा क्षेत्रफल ओगटेको छ । भरतपुरको अन्य
स्थानमा रोपाइँ सकिए पनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला
राख्ने हुँदा रोपाइँमा ढिलाइ भएको हो ।
पूर्वी चितवनमा चैते धानपछि लगत्तै बर्खे धान लगाएर रोपाइँ शुरुआत गरिन्छ ।
धानपछि तरकारी लगाउने भएकाले चाँडै धान लगाउने चलन रहेको उनले जानकारी दिएका छन् ।
यही साउनको दोस्रो सातासम्म रोपाइँ सकिने अनुमान केन्द्रको छ । यसवर्ष वर्षात
छिटो हुनु, मल बीउको अभाव
खासै नभएकाले पनि रोपाइँ विगतका वर्षमा भन्दा चाँडो भएको उनको भनाइ छ । गत वर्षमा
भदौको अन्त्यसम्म धान रोपाइँ हुने गर्दथ्यो ।
यहाँको खेतीयोग्य जमीनमध्ये वर्षभरि र मौसमी गरी ७२.७ प्रतिशत जमीनमा सहजै
सिँचाइ पुगेको ज्ञान केन्द्रले जानएको छ । गतवर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा
बर्खे र चैते गरी धान लगाइएको थियो । चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब
२ मेट्रिक टन र वर्षेको ३ दशमलब ५२ छ ।