बिर्तामोड / नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदललाई बल प्रदान गर्न तेस्रो पुस्ता जन्मिएको छ ।
एमालेको दुवै समूहमा रहेका सांसदहरुको एकता अभियान भित्रभित्रै सक्रिय भएको छ । अभियानले १० सदस्यीय कार्यदलका नेताहरुसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् ।
एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक अभियानले कार्यदललाई सहमतिमा पुग्न दबाब दिने भएका छन् । सांसद तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गर्न सक्छ कि सक्दैन भनेर आफूहरु प्रष्ट हुन चाहेको बताएका छन् ।
अभियानमा सक्रिय एक सांसदले कार्यदलका नेताहरु नै अन्तिममा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहमा फर्किएकाले समस्या बताएको बताएका छन् । अभियानको नेतृत्व संस्थापनबाट कृष्णप्रसाद दाहाल र नेपाल पक्षबाट यज्ञराज सुनुवारले गरेका छन् ।
एक सांसदका अनुसार ओली र नेपाल व्यक्तिगत इगोमा अल्झिएकाले तेस्रो व्यक्ति अगाडि सार्नुपर्ने अवस्था आएको बताएका छन् । त्यही विकल्पबारे पनि आज छलफल हुनेछ ।
अभियानमा कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायका सांसद छन् ।
विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने संस्थापन पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।