गलकोट / बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको बर्सातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकले पुलवरपरको क्षेत्र भभिराउन हुन थालेको छ ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हो । पुल व्यवस्थापनको जिम्मा पाएको बागलुङ नगरपालिकाले उक्त पुल विश्वकै लामो भएको दाबी गर्दै गिनिजबुकमा नाम लेखाउन निवेदनसमेत दिइसकेको छ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दर शहीद उद्यानभित्रबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुलमा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो । 

OM Sai Pathibhara Hospital

अत्यावश्यक कामबाहेक पर्यटकका लागि बन्द गरिएको पुल निषेधाज्ञा खुकुलो भएसँगै पर्यटकको चहलपहल पुनः बढ्न थालको छ । निषेधाज्ञाले घर र कार्यालयमा मात्रै सीमित बागलुङ बजारका अमिट कार्की एक हप्तादेखि साँझपख लामो पुलमा घुम्न आउने गरेको बताउछन् । 

अहिले बागलुङ बजारवासी पुल तरेर पर्वतको कुश्मा–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने र कालीगण्डकी किनारामा रमाउने गर्न थालेका हुन् । अदुवाबारीमा रहेका आधा दर्जन रेष्टुराँ तथा पसल पर्यटकले भरिभराउ हुने गरेका छन् । कोरोना जोखिम कायमै रहेको हुँदा पुलमा बागलुङ र पर्वत बाहिरका पर्यटक भने खासै आउने गरेका छैनन् ।

कोरोनाका कारण घरभित्रै सीमित रहेका बागलुङ र पर्वतवासी निषेधाज्ञा खुकुलो भएसँगै पुलमा घुम्न आउन थालेपछि सुरक्षाका लागि प्रहरीसमेत तैनाथ गरिएको छ । गर्मी मौसममा साँझपख कालीगण्डकी नदीमाथिको पुलमा चिसो हावा खान आउने गरेको आन्तरिक पर्यटक सुमन सुवेदीले बताएका छन् । पुल निर्माण गर्दा अस्तव्यस्त बनेको शहीद उद्यान बागलुङ नगरपालिका र वन विभागको साझेदारीमा सौन्दर्य अभिवृद्धि गरेपछि उद्यानमा समेत पर्यटक बढ्न थालेका छन् । 

साविक धवलागिरि अञ्चलकै ठूलो जनघनत्व भएको बागलुङ बजार नजिकै शहीद उद्यान र लामो पुल भएकाले पर्यटकहरुको भीड नै लाग्ने गरेको छ । नियमितरूपमा प्रातः तथा सायमकालीन पैदल भ्रमण गर्नेले समेत पुल र उद्यान भरिन थालेको छ । 

र ४० लाख रुपैयाँमा गत असारमा उद्यानलाई थप सुन्दर बनाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन् ।  “पुल निर्माण गर्दा उद्यानमा क्षति पुगेकाले आलोचनासमेत खेप्नुपरेको स्मरण गर्दै हामीले पुल निर्माण भएपछि उद्यानलाई पुनः व्यवस्थित गरेका छौँ”, नगरप्रमुख पौडेलले भने, “हराभरा उद्यानको बीचमा लामो झोलुङ्गे पुल भएकाले पर्यटकीय दृष्टिले निकै आकर्षक भएकाले थप पूर्वाधारसमेत बनाउँदै लैजाने छौँ ।” अहिले नगरपालिकाले उद्यानमा एक जना हेरालुसमेत राखेको छ । पुलमा दैनिक २०० देखि ३०० आन्तरिक पर्यटक पुग्ने गरेका छन् । रासस