फुङ्लिङ / ताप्लेजुङको मैवाखोला गाउँपालिका सुकुम्बासी विहीन बन्ने भएको छ ।

सुकुम्बासीलाई जग्गा खरिद गरी दिने प्रक्रिया शुरु भएसँगै अब मैवाखोला गाउँपालिका सकुम्बासी विहीन बन्ने भएको हो । यसका लागि चालू आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । सुकुम्बासीका लागि जग्गा खरिद गर्न गत आर्थिक वर्षमा गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

OM Sai Pathibhara Hospital

गाउँपालिकाले गत हप्ता मात्र सोही गाउँपालिका४ का निङ्मा फूर्वा शेर्पालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको थियो । गाउँपालिकाले आफ्नो नाममा दुई रोपनी जग्गा पास गरिदिएपछि अब उनी सुकुम्बासी रहेनन् । जग्गा पास गरिदिन वडाध्यक्ष पूर्णाहाङ लिम्बूसहित जिल्ला मालपोत कार्यालय फुङ्लिङमा आएका थिए । निङ्माका श्रीमान् पेम्बा बेपत्ता भएको २२ वर्ष पछि बल्ल उनले आफ्नै नाममा जग्गा प्राप्त गरेका छन् । श्रीमानको नाममा समेत जग्गा नभएपछि ४० वर्षदेखि साहुको जमिन अधियाँ कमाएर गुजारा चलिरहेका उनको दुई छोरीको विवाह गरेपछि घरमा एक्लै भएका छन् ।

उनको आफ्नो कमाइले जमिन जोड्न कल्पना बाहिरको कुरा थियो । सुकुम्बासी मुक्त पालिका बनाउने अभियान अन्तर्गत गाउँपालिकाले उनलाई जग्गा खरिद गरेर जग्गाधनी पूर्जा उपलब्ध गराईदिएको छ । आगामी आर्थिक वर्षमा घरसमेत बनाइदिने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले जानकारी दिएका छन् ।

गाउँपालिकाभित्र जमिनविहीन परिवारको तथ्याङ्क वडा कार्यालयमार्फत सङ्कलन कार्य भइरहेको चोङपाङले बताएका छन् । आफ्नो नाममा जमिन नभएका स्थानीयवासीको पहिचान गर्ने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा जग्गा खरिद गरिदिने र चालू आर्थिक वर्षमा घरसमेत बनाइदिने गाउँपालिकाको योजना भएको मैवाखोला गाउँपालिकाका सूचना अधिकारी मदन तिवारीले बताएका छन् । त्यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गरेको उनले बताएका छन् ।

सुकुम्बासीका लागि अहिले जग्गा खरिद कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताएका छन् । सुकुम्बासी भनेर समाजले लगाइदिएको ट्याङ अब हटेको अर्का स्थानीयवासी फूर्वा ग्याल्जेन शेर्पाले बताएका छन् । उनलाई पनि गाउँपालिकाले दुई रोपनी जग्गा खरिद गरिदिएको छ । तेरो नाममा जग्गा घर केही छैन भनेर समाजले फरक व्यवहार देखाउने गरेको थियो”, उनी भन्छन्, “अब त मेरो नाममा पनि जग्गा छ ।बाजेले जमिन बेचेर खाएपछि उनको परिवार रैथाने भएर पनि दुई पुस्तादेखि गाउँमै सुकुम्बासी बनेको थियो । साहुको चार रोपनी अधियाँ कमाएर उनले छ जनाको परिवार पालिरहेका थिए ।

बाबु र बाजेका नाममा समेत घरजग्गा भएका परिवारलाई सुकुम्बासी भनेर पहिचान गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लामा पहिलो पटक मैवाखोलाले यस्तो योजना ल्याएको हो । वडा नं ५ र ६ का सुकुम्बासीले चार/चार रोपनी र अन्य वडाकालाई दुई/दुई रोपनीका दरले जग्गा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । सुकुम्बासीका लागि यसअघि सार्वजनिक तथा सरकारी जग्गाको उपयोग गर्ने गरिएको थियो । उनीहरु नयाँ ठाउँमा बस्न नरुचाउने गरेकाले हामीले कहाँ बस्दै आएका छन् ,त्यहीँको जग्गा खरिद गरेर दिएको तुम्बापोको भनाइ छ ।