मकवानपुर /
मकवानपुरको थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दा मध्ये आर्थिक
वर्ष २०७७/७८ मा ३० वटाको
फैसला भएको छ । ती मुद्दा मेलमिलापको विधिबाट निरुपण गरिएको हो।
समितिमा एक
वर्षभित्र विभिन्न किसिमका ४६ मुद्दा परेको न्यायिक समितिका कानूनी सहजकर्ता गोपीकुमारी
कार्कीले जानकारी दिएकी छन् । अघिल्लो आवमा विचाराधीन रहेकासमेत गत आवमा न्यायिक
समितिमा विभिन्न आठ किसिमका उजूरी परेका थिए । दर्ता भएका मुद्दामध्ये तीनवटा
अदालत पठाइएको नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक खड्गबहादुर
गोपालीले जानकारी दिएका छन् । न्यायिक समितिमा उजूरी दिएर तारिख नबुझेको र
सम्पर्कमा नआएको मुद्दा सातवटा रहेका छन् ।

त्यसैगरी आठवटा
मुद्दा विचाराधीन रहेका छन् । न्यायिक समितिका कानूनी सहजकर्ता कार्कीका अनुसार
समितिमा दर्ता भएका उजूरीमध्ये सबैभन्दा बढी जग्गाको साँध–सिमाना सम्बन्धी
छन् । एक आवमा १७ मुद्दा जग्गासम्बन्धी दर्ता भएको समितिले जनाएको छ । त्यसैगरी १० जग्गा रोक्कासम्बन्धी, ६ आर्थिक
लेनदेन सम्बन्धी र चार अंश सम्बन्धी छन् ।
समितिमा ज्येष्ठ
नागरिकको हेरचाह नगरेको मुद्दासमेत परेको छ । गत आव त्यस्ता तीन मुद्दा दर्ता भएका
छन् । त्यसैगरी श्रीमान्–श्रीमती झै-झगडाका मुद्दा तीन, साधारण कुटपिटका
मुद्दा दुई र ज्याला विवाद सम्बन्धी मुद्दा एकवटा दर्ता भएको उनले जानकारी दिएका
छन् । समितिमा आएका मुद्दा सकेसम्म मेलमिलापको माध्यमबाट निरुपण गर्ने गरिएको
समितिका संयोजक गोपालीले जानकारी दिएका छन् ।