काठमाडौँ
/ राष्ट्रियसभाको नवौँ अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सभाका अध्यक्ष गणेशप्रसाद
तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए
।
उनले
नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री
पदमा नियुक्त गरिएको तथा मन्त्रिपरिषद् विस्तार सम्बन्धी राष्ट्रपति कार्यालयबाट
प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा प्रजातन्त्र, लोकतन्त्र
र गणतन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति दुई मिनेट
मौनधारण गरिएको थियो ।
अधिवेशन
प्रारम्भ भएसँगै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोभिड–१९
को सङ्क्रमण बढ्दो रहेकाले जोखिम नियन्त्रणका लागि कोभिड १९ विरुद्धको खोपको
प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिन सरकारसमक्ष माग गरेका छन् ।
जारी
मनसुनका कारण प्राकृतिक विपद्का घटना पीडितको राहत, उद्धार तथा बास व्यवस्थापनका
लागि थप प्रभावकारी काम गर्न उनले आग्रह गरेका छन् ।
नेकपा
(एमाले) का सुमनराज प्याकुरेलले सत्ता प्राप्तिका लागि दलीय प्रणालीलाई समेत कमजोर
पार्नेगरी सर्वोच्च अदालतको फैसलाले विधिको शासनमाथि प्रश्न चिन्ह लागेको र
सुधारिएको पञ्चायती व्यवस्था लागू गर्न खोजिएको आरोप लगाएका छन् ।
उनले
जनमतप्राप्त गरेर आफूहरु पुनः सत्तामा जाने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री केपी
शर्मा ओली नेतृत्वको सरकारले अगाडि सारेका कामलाई प्रभावकारी रुपमा कार्यान्वयन
गर्न अवरोध गरिएको बताएका छन् ।
नेकपा
(माओवादी केन्द्र) राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले प्रतिपक्षलाई विश्वासमा
लिएर सहमति र सहकार्यको संस्कृतिलाई बढावा दिई मुलुकमा व्याप्त समस्याको समाधानका
लागि सबै राजनीतिक दललाई आग्रह गरेका छन् । उनले संविधानको रक्षाका लागि सर्वोच्च
अदालतले गत असार २८ गते गरेको फैसला दुरगामी महत्वको रहेको टिप्पणी गरेका छन् ।