काठमाण्डौ
/ जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठकुर पक्षबाट केपी ओली सरकारमा मन्त्री
बनेकी सांसद रेणुका गुरुङले महन्थ ठाकुर छाडेर उपेन्द्र यादव पक्षलाई साथ दिएकी
छन्। गुरुङ ओली सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री
बनेकी थिइन्।
शेरबहादुर
देउवाले विश्वासको मत लिन लागेका बेला गुरुङले अन्तिम समयमा आएर कित्ता परिवर्तन
गर्दै यादव पक्षको बैठकमा सहभागी भएकी हुन् । योसँगै उपेन्द्र यादव पक्षतिर १८
सांसद रहेका छन् भने ठाकुर पक्षमा १४ छन् ।
शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा संसदीय दलको अनौपचारिक बैठकमा ठाकुर पक्ष छोडेर प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुहिनाज सहभागी भएका थिए। उनीहरूसँगै गुरुङ पनि सामेल भएकी हुन्। उनीहरू आफ्नो पक्षमा आएपछि संसदीय दलमा बहुमत पुगेको उपेन्द्र-बाबुराम पक्षको दाबी छ।
ठाकुर पक्ष केपी ओली सरकारमा सहभागी भएपछि जसपामा विभाजनको सँघारमा पुगेको थियो। जसपा विवादबारे निर्वाचन आयोगले इजलास गठन गरेको छ। आजदेखि आयोगको इजलास सुरु भएको छ।