काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)को माधवकुमार नेपालपक्षका सात जना सांसद भए विश्वासको मत प्राप्त गर्न पुग्ने भएको छ।
विश्वासको मत प्राप्त गर्न उनलाई १३६ मत आवश्यक पर्छ। त्यसका लागि नेपालपक्षका सात जना सांसदले मत दिए पुग्ने देखिएको हो।
सर्वोच्च अदालतमा दायर गरिएको रिटमा नेपालपक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए। प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने भएपछि मत दिने/नदिनेबारे निर्णय गर्न नेपालपक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।
संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि परिस्थिति फेरिएर विश्वासको मत लिन कठिनाइ पर्न सक्ने आकलन गर्दै आजै विश्वासको मत लिन लागेका हुन्।