काठमाडौं / नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कोइराला खेमा एकजुट हुने भएको छ । महाधिवेशनमा कोईराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्न छलफल शुरु भएको हो।

१४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै उम्मेद्वारी दिने तीव्र तयारी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दावी गर्ने बताउँदै आएकी छन् ।

OM Sai Pathibhara Hospital

कोइराला परिवारका यी तीन जना नै एकजुट नहुने अवस्था आएपछि परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको हो ।  शनिबार दिउँसो शशांक निवास महाराजगञ्जमा शेखर, शशांक र सुजाताबीच बैठक भएको छ ।

कांग्रेसमा संस्थापनइतर समूहबाट सभापतिका आधा दर्जन बढि आकांक्षी देखिएका छन् । तर, कोइराला परिवार भित्रबाटै शेखर र शशांकले सभापतिका लागि बलियो उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

महामन्त्री शेखर कोइरालाले आफूहरुबीच सहमतिमा एउटा मात्रै उम्मेदवार बन्ने बताउँदै आएका छन् । उनले आफू कुनै पनि हालतमा पछि नहट्ने अडान लिँदै आएका छन् । १४ औं महाधिवेशनमा नेतृत्वका लागि दोहोरिन कांग्रेस सभापति शेरबहादुर देउवाले तयारी अगाडि बढाइसकेका छन् ।

संस्थापन समूहबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर संस्थापन समूहबाट निधिका पक्षमा अरु नेताहरु खुलेका छैनन् ।

यसअघि उपसभापति निधिकै पहलमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच तीन पटक छलफल भएको थियो । कांग्रेस संस्थापक नेताहरु वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्र नेतात्रयबीच सर्वसम्मत उम्मेदवार तय गर्न आलोपालो तीनै नेताका निवासमा छलफल भएको थियो । तर, उनीहरुबीच नेतृत्वमा सहमति हुन सकेको छैन।