काठमाडौँ / नेपालको
मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक
वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको
हो।
अघिल्लो वर्षको सोही
अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा
अन्य मुलुकतर्प क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने
चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा
सोयाविन तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य),
जुटका सामान, ऊनी, गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने पामतेल, दाल, जस्तापाता, तार, चोकरलगायतका
वस्तुको निर्यात घटेको छ । चालु आवको ११ महिनामा कूल वस्तु आयात २५.७ प्रतिशतले
वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही
अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो । वस्तु आयात
गरिने मुलुकका आधारमा भारत,
चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशत
र ९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन
तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको
केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै हवाईजहाजका
पार्टपुर्जा, कच्चा पामतेल,
भिडियो, टेलिभिजन तथा पार्टपुर्जा,
कोल्डरोल्ड सिट इन्क्वाइल,
चाँदीलगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ तातोपानी, कञ्चनपुर र
रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।
आयाततर्फ तातोपानी र
रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष
२०७७/७८ को एघार महिनामा कूल वस्तु व्यापार घाटा २४.६ प्रतिशतले वृद्धि भई १२ खर्ब
६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६.४
प्रतिशतले घटेको थियो ।