काठमाडौँ / नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा आज पदबहाली गरेका छन् । 

उनलाई मन्त्रालयमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत अभिवादन गरेका थिए । 

OM Sai Pathibhara Hospital

पद बहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले हामीले आफ्नो जीवनमा कोभिड –१९ को सबैभन्दा ठूलो महामारी सामना गरिरहेकाले त्यसलाई परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो औँल्याए ।

उनले भने, “कोरोनाको महामारीबाट बच्नका लागि सबैले गम्भीरतापूर्वक आफ्नो दायित्व र भूमिका निर्वाह गर्न जरुरी छ । कोभिड –१९ को महामारीका क्रममा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी अग्रभागमा रहेर ठूलो भूमिका निर्वाह भइरहेको छ ।” 

कोभिड –१९ प्रतिकार्यमा खटिने जुनसुकै नागरिकको जीवनरक्षा गर्नु सरकारको दायित्व रहेको बताउँदै गृहमन्त्री खाँणले भने, “महामारीका लागि समन्वयका साथ समुचित व्यवस्थापन गर्नुपर्छ, आवश्यक ठाउँमा सरकारकाले बजेट व्यवस्थापन र खर्च तथा उपचार गर्न प्रतिबद्ध छ ।”

उनले संवैधानिक व्यवस्थाअनुरूप कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच  समन्वय गरी बनेका कानूनहरूलाई कार्यान्वयन  गर्ने भूमिकामा सम्बद्ध निकायले सक्रियताका साथ मिलेर अघि बढ्नुपर्छ भन्ने हाम्रो चाहना रहेको बताए । 

नवनियुक्त गृहमन्त्री खाँणले पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गरेका थिए । मुलुकका ७७ जिल्लाका विपद् व्यवस्थापन कोषमा आवश्यकताअनुसार रकम रहने गर्छ । सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हाल रु एक अर्ब पाँच करोड छ ।