काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेका छन् । सर्वोच्च अदालतले गैरसंवैधानिक काम गरेको भन्दै ओलीका समर्थकरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् ।
सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरूलाई आह्वान गरेका थिए ।
उनी आफैं पनि माइतीघर मण्डलामा उभिएर ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए । साँझ बानेश्वरमा भेला भएका कार्यकर्ताले फेरि पुत्ला जलाएका हुन् ।