गलेश्वर / ऐतिहासिक पर्वत राज्यको राजधानी ढोलठानस्थित पर्यटकीय र पुरातात्विक महत्वले युक्त राजदरबार पुग्न अब सहज भएको छ । तत्कालीन पर्वते राजा घनश्याम मल्ल र उनका छोरा मलेबम मल्लको गर्मी यामको राजधानी ढोलठान दरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको हो ।

म्याग्दीको बेनी नगरपालिका९ तोरीपानीको शिरमा अवस्थित ढोलठान दरबार पुग्नलाई वडा कार्यालयको लगानीमा सडक स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको हो । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको ढोलठान दरबारलाई संरक्षण गरी ऐतिहासिक र पर्यटकीयस्थलका रूपमा विकास गर्न वडा कार्यालयले पूर्वाधार निर्माणमा जोड दिएको बेनी९ का वडाध्यक्ष बेलबहादुर चोखालले बताएका छन्  

OM Sai Pathibhara Hospital

उनका अनुसार चमच्चा डिलदेखि ढोलठानसम्म करिब ६०० मिटर पदमार्ग निर्माण गरिएपछि स्थानीयवासीलाई समेत आवातजावतमा सहज भएको छ । चालु आर्थिक वर्षमा वडाले सडक स्तरोन्नतिका लागि नौ लाख रुपैयाँ, पदमार्ग निर्माणका लागि चार लाख रुपैयाँ र प्रतीक्षालय बनाउन दुई लाख रुपैयाँ गरी कूल १५ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण गरेको वडाध्यक्ष चोखालले बताएका छन्  

कोरोना सङ्क्रमणको रोकथामका लागि जारी बन्दाबन्दीका कारण बेरोजगार बनेका स्थानीय युवालाई रोजगारी दिँदै वडाले तोरीपानीदेखि ढोलठान दरबार नजिक पुगेको सडकको स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरेको वडासदस्य भेषबहादुर सेनले बताएका छन्  

कहिले राजा ढोलठाना, कहिले राजा बेनीम्याग्दीमा यो लोक कथन अझै पनि उत्तिकै प्रचलित छ । बाइसी, चौबीसी राज्यकालमा चौबीसी राज्यअन्तर्गतको मलेबम प्रदेशका नामले चिनिएको १६ हजार पर्वत राज्यको ग्रिष्मकालीन राजधानी ढोलठान ऐतिहासिक, सामरिक र पर्यटकीय सम्भावनाले पनि उत्तिकै महत्वपूर्ण रहेको जनकल्याण मावि पुलाचौरका शिक्षक शिव बानियाँले बताएका छन्  

विसं २०७७ को मदनपुरस्कार प्राप्त गर्न सफल साहित्यकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित महारानीउपन्यास तत्कालीन पर्वत राज्यको राजधानी ढोलठान र बेनीलाई नै आधारभूमि बनाएर लेखिएको हो । महारानी उपन्यास प्रकाशन भएपछि यस ठाउँको बारेमा जानकारी लिने र चासो राख्ने बढेका वडाध्यक्ष चोखालले बताएका छन्  

यहाँ तत्कालीन राजाहरुले पूजा गर्ने पुरातात्विक सम्पदासहितको पुरानो मन्दिर र विभिन्न हातहतियारसमेत रहेका छन्। यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरिसहितका दर्जनौँ हिमालको दृश्य र म्याग्दीसँगै पर्वत र बागलुङ जिल्लाका दर्जनाँै गाउँ अवलोकन गर्न सकिने स्थानीयवासी राजन चोखालले जानकारी दिएका छन्

समथर भूभाग, सिरसिर चल्ने चिसो हावा, तत्कालीन रानी बसेर ऐना हेर्दै कपाल कोर्ने स्थान (थुम्को), ऐतिहासिक मन्दिरको भग्नावशेषसमेत रहेकाले अवलोकनका लागि यहाँ आउने पर्यटक रमाउने गरेका स्थानीयवासीको भनाइ छ ।

पर्यटकले ऐतिहासिक ढोलठान दरबारको अवलोकनसँगै स्थानीय जैविक उत्पादनको खाजा खाना, विभिन्न जातजातिको कलासंस्कृति र गाउँले जीवनशैलीलगायत रैथाने जीवनशैलीको समेत अवलोकन गर्न पाउने वडासदस्य सेनले बताएका छन्  । म्याग्दीको सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत ४५ मिनेट र पैदल करिब तीन घण्टामा यहाँ पुग्न सकिन्छ।