इलाम / कोरोना सक्रमित पत्रकारलाई सञ्चार प्रतिष्ठानले  सहयोग गरेको छ । इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको हो । 

 आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले रु २५ हजार प्रदान गरेका छन्। सञ्चार प्रतिष्ठानले कोभिड सङ्क्रमित पत्रकारलाई उपचारमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत पत्रकार राईलाई सो रकम प्रदान गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका हुन् । 

OM Sai Pathibhara Hospital

शर्माले नेपाल पत्रकार महासङ्घ जिल्लासँगको सहकार्यमा १४ वटै जिल्लाका सङ्क्रमित पत्रकारलाई सहयोग गरिरहेको बताएका छन् । अक्सिजनमा बस्नु परेमा रु २५ हजार र भेन्टिलेटरमा बस्नु परे रु ५० हजार नगद उपचारस्वरुप हस्तान्तरण गरिनेसमेत उनको भनाइ थियो । 

सञ्चार प्रतिष्ठानले जिल्लामा रहेका क्रियाशील पत्रकार र प्रमुख जिल्ला अधिकारी तथा प्रशासन प्रमुखसँग सञ्चार क्षेत्रको समस्याका विषयमा छलफलसमेत गरेको छ । पत्रकारको तर्फबाट महासङ्घ इलाम अध्यक्ष विप्लव भट्टराईले पत्रकारको समस्या कागजीभन्दा पनि व्यावहारिकरुपमा अघि बढाउन प्रतिष्ठानलाई आग्रह गरे ।  

प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माले कतिपय समस्या प्रतिष्ठानले र कतिपय महासङ्घ आफैँले समाधान गर्नुपर्ने बताएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट इलाममा १८ पत्रकार सङ्क्रमित भएको र हाल अझै चार पत्रकार सक्रिय सङ्क्रमित रहेको महासङ्घ इलाम शाखाका सचिव भीम चापागाईंले बताएका छन् ।