काठमाडौँ / नेकपा एमाले आन्तरिक विवाद समाधानका लागि कठित कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेको छ ।
लामो कसरत, प्रतीक्षा र उतारचढावबीच दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि १० बुँदे सहमति सार्वजनिक गरेको हो । कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेपछि सत्तारूढ नेकपा (एमाले) दलभित्र उत्साह पैदा भएको छ ।
‘लगातार र कठोर मेहनत’ पछि कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई आज बस्ने पार्टीको स्थायी कमिटीको र मङ्गलबार बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नेछ ।
प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयअनुरूप अगाडि बढ्ने सहमतिलाई व्याख्या गर्ने सन्दर्भमा केही आआफ्ना प्रस्तुति देखिए पनि आमरूपमा सहमतिलाई स्वागत गरिएको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा लामो समयदेखि देखा परेको समस्या समाधानका लागि गठित कार्यदलले आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकामा कार्यदलका सदस्यलाई धन्यवाद दिएका छन् ।
“नेकपा (एमाले)को आन्तरिक जीवनमा यो अत्यन्तै सुखद छ । अब हामीले पार्टी र सङ्गठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ शिराबाट उठाउन जरुरी छ । एमाले एकताबद्ध रूपमा देश र जनताको समस्या समाधान गर्न केन्द्रित रहन्छ”, महासचिव पोखरेलले भनेका छन् ।
पार्टीका सचिव योगेशकुमार भट्टराईले सहमति स्वागतयोग्य भएको बताएका छन् । उनले सहमतिको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै र विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यको युगीन कार्यभार बनेको उल्लेख गरेका छन् ।
सो सहमतिमा पार्टीका सबै कमिटी, निकाय र जनसङ्गठनलाई नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुनुपूर्व २०७५ जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय) समेतलाई आधारमा मानी सङ्गठनात्मक अवस्थाबाट क्रियाशील हुने उल्लेख छ ।
सहमतिमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट एमाले पुनःर्जीवित भएपछि वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र साङ्गठनिक काम कारवाही स्वतः बदर हुने, उक्त फैसलापछि एमालेमै रहने निर्णयमा पुगेका तत्कालीन नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापालगायत नेतालाई स्वागत गर्दै नेकपामा रहँदाका स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका ती नेतालाई सोही कमिटीमा रहने निर्धारण गरिएको छ ।
एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलमा पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपाध्यक्ष डा भीमबहादुर रावल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, सचिवद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, विष्णु रिमाल र रघुजी पन्त थिए ।
सहमतिको बुँदामा नेता पन्तको हस्ताक्षर बाँकी रहेको छ भने सहमति हुँदै गर्दा सचिव भीम आचार्य पनि वार्तास्थल सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेका थिए ।