बिर्तामोड / माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगमा परेको मुद्दाको फैसला आज भएको छ । आयोगको आज बसेको बैठकले माओवादी केन्द्र अवैधानिक भन्दै परेको मुद्दाको फैसला गरेको हो ।   

आयोगले बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र संवैधानिक र कानूनी शर्त पूरा गरेर दर्ता भएकोले उक्त दलको वैधानिकता रहेको भन्दै निवेदनउपर केही गर्न नपरेको बताए।

OM Sai Pathibhara Hospital

आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलित कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको जानकारी दिए ।

एमाले गएका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टले माओवादी अवैधानिक भएको दावी गरेका थिए।  

त्यसैगरी, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर निर्वाचन आयोगमा दिएको अर्को निवेदन पनि आयोगले खारेज गरिदिएको छ । साथै, त्यसरी अन्य दलको लेटरप्याडको दुरुपयोग नगर्न आयोगले भविसोर पराजुलीलाई सचेत गराउने निर्णयसमेत गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू सगुनसमशेर जबरा, जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको हो ।