बिर्तामोड(एजेन्सी) भारतमा शनिबार इन्धनको मूल्य पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश : १०० रूपैँया ९१ पैसा र ८९ रूपैँया ८८ पैसा (भारू)  प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ । 

अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रुपैयाँ ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रुपैयाँ ४६ पैसा पुगेको छ । 

OM Sai Pathibhara Hospital

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले शुक्रबार भने, “पेट्रोल र डिजेलको उच्च मूल्यमा दबिएका आम नागरिकलाई राहत दिन केन्द्रले ‘ठूलो मन’ बनाउनुपर्ने र इन्धनको करलाई घटाउनु पर्ने देखिएको छ ।” 

मध्य प्रदेशको भोपालमा पनि पेट्रोलको मूल्य बढेको छ । यहाँ पेट्रोल प्रति लिटर १०९ रुपैयाँ २४ पैसा र डिजेलमा प्रति लिटर ९८ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

त्यस्तै कलकत्तामा पेट्रोल प्रति लिटर १०१ रुपैयाँ ०१ पैसा र डिजेलमा प्रति लिटर ९२ रुपैयाँ ९७ पैसा कायम भएको छ । 

उत्तर प्रदेशका भाजपा राज्यसभा सांसद हरदीप सिंह पुरीले बिहीबार केन्द्रीय पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रीको पदभार लिएका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेसँगै उनले कच्चा तेल र प्राकृतिक ग्यासको स्वदेशी उत्पादन बढाउने बताए । 

उनले भने, “हाम्रो ध्यान कच्चा तेल र प्राकृतिक ग्यासको बढ्दो घरेलु उत्पादनमा केन्द्रित हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीको एक आत्मानिरभर भारतको अवधारणा अनुरूप हामी मुलुकमा प्राकृतिक ग्यास आधारित अर्थतन्त्रको विकासतर्फ काम गर्ने छौं ।”