काठमाडौँ / वाग्मती प्रदेश सरकारले बजेट पास गर्नका लागि दलीय सहमति जुटाउन प्रयास थालेको छ । सहमतिका लागि मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रतिपक्षी दलका नेतासँग वार्ता गरेका हुन् ।
उनले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जमरकट्टेल तथा प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँसँग आज छलफल एवं वार्ता गरेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाको समेत सहभागिता रहेको छलफल सकारात्मक रहेको जनाइएको छ ।
छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विना अवरोध सञ्चालन हुने मुख्यसचेतक निरौलाले जिकिर गरे ।
बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।