हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना व्यक्ति संलग्न भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न २६ जना कोलम्बिया र २ जना भने हाइटी अमेरिकी रहेको बताइएको छ।

ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ। बुधवार प्रहरीले चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो। हत्यारा र प्रहरीबीचको भिडन्त भने जारी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

OM Sai Pathibhara Hospital

हाइटी प्रहरीका निर्देशक लियोन चाल्र्सले १५ कोलम्बियाली र दुई हाईटियन अमेरिकीलाई पक्राउ गरेको बताए। तीन कोलम्बियाली मारिएका छन् भने आठ अझै फरार छन्। चाल्र्सका अनुसार हत्याराहरू यस घटना पश्चात भागिरहेको समयमा प्रहरीले उनीहरुलाई घेरेको थियो।

त्यसबेलादेखि दुवै पक्षबाट गोलीबारी भइरहेको बताइएको छ। बुधबार बिहान करिब ५ बजेतिर भारी हतियारधारी हत्याराहरूले हाइटीको राजधानी पोर्टप्रिन्सस्थित राष्ट्रपति भवनमा तोडफोड गर्दै ५३ वर्षीय राष्ट्रपति जोभिनल मोइस र उनकी पत्नी मार्टिना मोइसलाई गोली प्रहार गरेका थिए।

१२ वटा गोली लागेका राष्ट्रपति मोइसको घटनास्थलमै मृत्यु भएको थियो। उनकी श्रीमती भने गम्भीर घाइते भएकी थिइन्। उनको उपचार भइरहेको र अवस्था स्थिर रहेको बताइएको छ। राष्ट्रपतिका तीन सन्तानहरु भने सुरक्षित ठाउँमा रहेको बताइएको छ।