बिर्तामोड / एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरू आज आयोग गएका थिए । उनीहरूले बहादुर भवन पुगेर माओवादी केन्द्रको दल दर्ता खारेजका लागि दिएको निवेदनका बारेमा प्रमुख आयुक्त दिनेश थपलिया लगायतलाई भेटेका हुन् ।
एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरूले माओवादी केन्द्रले २०५९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने भन्दै निवेदन दिएका थिए ।
‘उहाँहरूले कानूनी व्यवस्था यो–यो छ भन्नुभयो र सबै दलहरूको अवस्था त्यस्तै रहेको बताउनुभयो’ नेता साहले भने, ‘अरुको कुरा होइन, हामीले माओवादी केन्द्रको विषयमा प्रश्न उठाएका हौं । यसबारे छिटो निर्णय होस् भनेका छौं ।’
आयोगका अधिकारीहरूले छिट्टै निर्णय दिने आश्वासन दिएको नेता साहले जानकारी दिए ।