तनहुँ / तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । 

ऋषिङ –८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

ठूलो पहिरो भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन । प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो । 

त्यस्तै बाढीपहिरोले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिरोबाट विस्थापित भएका हुन् । बन्दीपुर –२ खहरे, धारापानी, वडा नं ३ रामकोट र वडा नं ५ कल्चोकमा बाढीपहिरोले ७२ घर विस्थापित भएका हुन् । 

बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको तथा २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए। 

उनका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा सात घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेका छन् । विस्थापित भएकाहरू कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन् । 

“घरभित्र पानी पसेर कतिपय सामग्रीमा पनि क्षति पुग्यो, बचेका सामग्रीसहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौँ”, गुरुङले भने ।