काठमाडौँ / नेकपा एमाले कार्यदलको बैठक अहिले सिंहदरबारमा शुरु भएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरू खारेज हुनुपर्ने अडान माधव नेपाल पक्षले राखेको छ ।  

‘विहीबार साँझ माधव पक्षका नेताहरू कडा रुपमा प्रस्तुत भएपछि ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरूबीच अनौपचारिक छलफल शुरु भएको थियो ।   

OM Sai Pathibhara Hospital

‘आज उहाँहरु केही नरम रुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ माधव नेपाल पक्षका एकजना कार्यदल सदस्यले  भने ,‘ फागुन २३ यता उहाँहरूले गरेका एकलौटी निर्णयहरू सबै खारेज हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो, हस्ताक्षर फिर्ताको त च्याप्टर नै क्लोज भइसक्यो ।’

अहिले बस्ने कार्यदलको बैठकमा सहमति जुटेपछि फेरि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच होटल मेरियटमा भेट वार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने एक नेताले बताए ।

एमालेभित्रको विवाद मिलाउन दुई पक्षबाट ५–५ जना सदस्य रहेको १० सदस्यीय कार्यदलले केही दिनयता सिंहदरबारस्थित अर्थमन्त्रालयमा वार्ता गर्दै आइरहेको छ । १० दिनयता विभिन्न छलफल र वार्ताहरू भए पनि निष्कर्ष निस्कन सकेको छैन ।