चितवन / चितवनको माडी नगरपालिकाका १६८ घर डुबानमा परेका छन् । जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार लगातार परेको वर्षाका कारण माडी नगरपालिकाका –१, ३, ४, ६ र ७ का घरहरू डुबानमा परेका हुन ।

उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । माडी नगरपालिका –१ मा रहेका १६० घरधुरीलाई पाँच पाण्डव मध्यवर्ती वनको भवनमा र वडा नं ३ बघौडाका ८ घरधुरीलाई सार्वजनिक स्थानमा राखिएको छ । 

OM Sai Pathibhara Hospital

अन्य स्थानकाहरूलाई स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ । निरन्तरको वर्षाका कारण माडीका खोलामा पानीको सतह बढेसँगै माडी भरतपुर सवारी आवागमन रोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले बिहीबार सूचना जारी गर्दै नारायणी, राप्ती, रिउ लगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

माडी क्षेत्रको बनकट्टा, कल्याणपुर, छरछरे, गोविन्द बस्ती र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

यस्तै इच्छाकामना, कालिका, राप्ती र भरतपुर महानगरपालिका– २९ लगायतका पहाडी भूभागमा भूक्षय र पहिरोको समेत जोखिम रहेको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।