काठमाडौँ / नेकपा एमालेको कार्यदल बैठक स्थगित गरिएको छ । पार्टी भित्रको विवाद टुंग्याउन बसेको कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो ।
कार्यदलका सदस्यहरू केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरू सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा बसेका छन् भने ओली पक्षीय कार्यदल सदस्यहरू बालुवाटारतिर लागेका छन् ।
पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ ।
एकताबद्ध पार्टी निर्माणका आधारहरू खोज्नका लागि गठित एमाले कार्यदलमा केपी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् । त्यस्तै, माधव समूहबाट भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।
विहीबार बिहानको बैठक सकिएपछि कार्यदलका सदस्यमध्ये अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल आफ्नै कार्यकक्षमा रहेका छन् भने माधव समूहका पाँचैजना नेताहरू अर्थ मन्त्रालयमै आन्तरिक छलफलमा जुटेका छन् ।
सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल बालुवाटारतिर लागेका छन् ।