काठमाडौँ  / हिमाली नवीन समाजले हुम्लाका नौ जना बालबालिकाको उद्धार गरि परिवारलाई जिम्मा लगाएको छ । 

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँ लगिएका खार्पुनाथ र आदानचुली गाउँपालिका बालबालिकालाई परिवारको जिम्मा लगाएको हो ।  

OM Sai Pathibhara Hospital

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ विपरीत सञ्चालन रहेको हुँदा गत फागुन १९ गते काठमाडौँको तारकेश्वर नगरपालिका –६ मा रहेको धर्मस्थलीस्थित लाइट फर नेशनल बालगृहबाट उनीहरूलाई उद्धार गरिएको हो । 

राष्ट्रिय बाल अधिकार परिषद्, तारकेश्वर नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलीले नौ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको हो ।

निःशुल्क गुणस्तरीय शिक्षाको बहानामा हुम्लाका विभिन्न गाउँबाट बर्सेनि धेरै बालबालिकाको बालगृहमा ओसारपसार हुने गरेको छ । बालबालिका र उनीहरूका अभिभावकलाई अनावश्यक प्रलोभन देखाई बालगृहमा भर्ना गर्ने प्रचलन बढेकाले सम्बन्धित निकायले यस सम्बन्धमा चासो दिनुपर्ने हिमाली नवीन संस्थाका प्रतिनिधि प्रभजन शाहीले बताए ।

बालगृहले पछिल्लो समय बालबालिकालाई निःशुल्क पढ्न, लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरुबाट समेत रकम असुल गरेको देखिएको छ । आफ्ना दुई बच्चालाई कक्षा १२ सम्म पढाइदिन्छु भनेर आफूबाट एक लाख रुपैयाँ लिएको अदनचुली –६ निवासी लालबहादुर शाहीले गुनासो पोखे ।