काठमाडौं / टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । 

OM Sai Pathibhara Hospital
टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/७९ का लागि प्रस्तुत गरेको  रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट शुक्रबारको दोस्रो बैठकमार्फत पास गरेको हो ।
 
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाको दोस्रो बैठकमा पेश गरेको उक्त बजेट नगरप्रमुख प्रकाश अधिकारीले पारित गर्न नगरसभा समक्ष पेश गरेका थिए । उक्त बजेट बहुमत सदस्यले ताली बजाएसँगै पास भएको हो । 

टोखाले आव २०७८/७९ को बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाहेक सामाजिक विकास, पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदा संरक्षण, कृषिको आधुनिकीकरण, खेलकुदलाई पनि बजेटले प्राथमिकतामा राखेको छ । 

नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, संगठन संरचना, न्यायिक समितिको प्रतिवेदन लगायत पारित गरेको नगरप्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए ।

बजेटसभा नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले भने बहिष्कार गरेका छन् । बजेट टोखाको समग्र विकासका लागि लक्षित नभइ आगामी निर्वाचनलाई प्रभाव पर्नेगरी आएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् । 

कोरोना महामारीले पीडामा रहेका व्यवसायीलाई करमा ५० प्रतिशत सहुलियत दिनुपर्ने, कोरोना खोप व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, वडा स्तरीय विनियोजित बजेट बढाउनु पर्ने लगायतका आफ्ना मागलाई सम्बोधन नगरेपछि नगरसभा बहिष्कार गरिएको कांग्रेसको तर्फबाट टोखा–११ मा निर्वाचित वडाअध्यक्ष उत्तम अधिकारीले जानकारी दिए । 

टोखाको नगरसभामा कांग्रेसको तर्फबाट पाँचजना वडा अध्यक्षसहित २१ नगरसभा सदस्य रहेका छन्। टोखा वडा नं २ का वडाअध्यक्ष दिपकराज जोशी, वडा नं ३ का वडाअध्यक्ष सिंहराज श्रेष्ठ, वडा नं ६ का वडाअध्यक्ष महेश्वर केसी, वडा नं ८ का वडा अध्यक्ष केशवबहादुर खत्री र वडा नं ११ का वडाअध्यक्ष अधिकारी कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

“वडालाई कम बजेट विनियोजन गरेर नगरप्रमुख र उपप्रमुखको तोक आदेशमा बजेट चलाउन खोजेकाले हामीले नगर सभा बहिष्कार गरेका हौँ”, वडा अध्यक्ष अधिकारीले भने ।