बिर्तामोड / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । आज (शनिबार) अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बैठक बालुवाटारमा बस्ने भएको हो ।  

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा आगामी मंसिर २ गते देखि हुने भनिएको दसौँ महाधिवेशनको मिति सार्ने तयारी बारे छलफल हुनेछ बताए ।

OM Sai Pathibhara Hospital

कात्तिक–मंसिरमा चुनावको मिति घोषणा भैसकेको अवस्थामा फागुनमा स्थानीय चुनाव गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘हामीले पार्टीको महाधिवेशन पनि गर्नुपर्ने छ’ उनले भने, ‘मंसिर २ देखि ६ मा हुने भनिएको महाधिवेशनको मितिबारे आजको बैठकबाट पुनर्विचार हुने सम्भावना छ ।’

महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा छलफल भइरहेको तामाङको भनाइ रहेको छ । आजको छलफलमा पनि माधव नेपाल समूहलाई बोलाइएको र आजको बैठकमा नआए पनि ७२ घण्टाभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए कारबाही हुने तामाङले बताए ।