विराटनगर / प्रदेश एक सरकारले विदेशबाट फर्केका युवालाई १ प्रतिशत व्याजमा तिन वर्षका लागि १० लाख सम्म ऋण उपलब्ध गराउने भएको छ । विदेशबाट फर्केका युवालाई उद्यमी बनाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ऋण प्रभावका लागि कृषि विकास बैंकसँग सम्झौता गरेको छ ।

बजेट मार्फत प्रदेश सरकारले ल्याएको प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रम अन्र्तगत विदेशबाट फर्केका युवालाई १० लाखसम्म ऋण उपलब्ध गराउन बैंकसँग सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

ऋण प्रभावका लागि मन्त्रालयकी सचिव निरू दाहाल पाण्डे र बैंकका प्रदेश निर्देशक बाशु अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
साउन महिनाबाट सुरु हुने कार्यक्रममा ऋणीले पाएको ऋणमा १ प्रतिशत मात्रै ब्याज लाग्ने र बाँकी ब्याज प्रदेश सरकारले व्यहोर्ने मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी गराएका छन् ।

उनका अनुसार विदेशबाट फर्केका युवालाई बैंकले १० लाखसम्म ऋण उपलब्ध गराउने छ । सम्झौता अनुसार ऋण लिनेले ३ वर्षपछि भने सम्पूर्ण ब्याज आफैँले तिर्नुपर्ने छ । १० लाख भन्दा माथि ऋण लिनेको हकमा भने सो रकम भन्दा माथिको सम्पूर्ण ब्याज आँफैले तिर्नु पर्ने छ ।  

प्रवक्ता डा. उप्रेतीले कृषि तथा पशुपन्छी जन्य काममा ऋण लगानी बढाउन यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका छन् ।