विराटनगर / मदिरा सेवन गरी कार दुर्घटना गराएका प्रदेश संसद् बिन्दिया कार्कीका छोरा २४ वर्षीय रविनसिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन् । उनलाई बुधबार मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
गत जेठ २० गते राति प्रदेश संसद् बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले कार्कीले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका –२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।
कार्कीविरुद्ध सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ को अभियोग दर्ता गराएको थियो । अभियुक्तलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना मागदाबी राखेर अभियोग दर्ता भएको थियो ।
अदालतको आदेश पश्चात कार्की विराटनगर कारागार चलान भएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । कार्कीलाई दुर्घटना भएको तीन दिनपछि २३ जेठमा कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो ।