विराटनगर / कोरोनाको दोस्रो लहर आएसँगै दुई महिना देखि नेपाल भारत सीमा बन्द छ । सर्वसाधारणलाई सीमापारि जान र आउन समस्या भएपछि अवैध कारोबारी बढ्न थालेको छ ।  

सीमामा खटिएका सुरक्षाकर्मी तस्करको हितैसी भएपछि चोरी पैठारी र निकासी निकै मौलाएको छ । चोरी निकासी र पैठारी नियन्त्रणका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक समिति भए पनि तस्करी नियन्त्रणमा खासै भूमिका निर्वाह गरेको भने देखिएको छैन ।

OM Sai Pathibhara Hospital

सुनसरीमा भारतसँग सीमा जोडिएको ६१.९ किलोमिटरमा सशस्त्रका एक दर्जन बोर्डर आउट पोस्ट (बिओपी) छन् । नेपाल प्रहरीको पनि सीमा प्रहरी चौकी सोही सङ्ख्यामा रहेको छ । सुनसरीको विभिन्न ५१ वटा नाकाबाट मान्छेहरूको आवतजावत हुने गरेको छ । एउटा विओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना भन्दा बढि सुरक्षाकर्मी खटाइएको छ । 

निषेधाज्ञाका कारण सिमानामा थप सशस्त्र प्रहरी परिचालन गरिए पनि तस्करी भने मोलाएकै छ । नेपाल प्रहरीका अधिकृत र सशस्त्र प्रहरीका गणपतिले जस्तो सुकै दाबी गरेपनि दिउँसै मालसामान ओसारपसार गर्छन् भने ठूला तस्करको समूहले भारतबाट राति कपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स, कस्टमेटिक, पान मसाला लगायतका मालसामान चोरी पैठारी गर्दै आएको छ । राजश्व सङ्कलनका लागि सिमानामा खटिएका प्रहरीनै तस्करसँग मिलेपछि संगठित रुपमै मदिरा, स्याउ, मटर, मरीच लगायतका सामान भारतीय बजारमा चोरी निकासी भइरहेको छ । भारतबाट अबैध रुपमा आयात भएका सामान नेपाली बजारमा छ्याप्छ्याप्ति छ  । 

साना अवैध कारोबारीले स्थानीय प्रहरी र ठूला तस्करले जिल्ला सुरक्षा प्रमुखसँगको मिलोमतोमा चोरी पैठारी र निकासी गर्दै आएका हुन् ।  जेठ ३० मा सुनसरीको लाही नाका हुँदै तस्करी भएको तीन ट्रक चाइनिज स्याउ वीरपुरदेखि भारतीय प्रहरीले पक्राउ गरेपछि प्रहरीको संरक्षणमा हुने गरेको अवैध कारोबार बाहिरिएको थियो । यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए ।

स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको छ । अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

घटनापछि सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गङ्गा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरी निलम्बनमा परेका थिए । छानविन टोलीले कार्कीलाई दोषी भएको निश्कर्ष निकालेको छ भने थापा र चौधरीलाई निर्दोष देखाएको छ ।

अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर रिटका घुमुवा सई किरण मोक्तान दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ । सही घुमुका प्रहरी मोक्तान यस अघि पनि सुनसरी, मोरङ र झापाका तस्करहरुसँग मासिक असुली गर्ने गरेको स्रोतले जानकारी  दिएको छ । सो प्रकरणमा प्रहरीका उच्च अधिकारीको पनि संलग्नता रहेको चर्चा रहेकोमा छानविन प्रतिवेदनमा त्यसबारे उल्लेख छैन । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा गठन गरेको छानविन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका इञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई दोषी ठहर गरेको छ ।

यस्ता अवैध कारोबारमा सहयोगी भुमिको लागि तस्करले मासिक अतिरिक्त रकम बुझाउदै आएको स्वयम प्रहरीकै भनाईछ । भाण्टाबारी बाहेक सुनसरीको श्रीपुर, लाही, साहेवगञ्ज, अमडुवा, कप्तानगञ्ज नाकादेखि अहिले पनि तस्करी हुने गरेको छ । सुनसरीदेखि सरुवा भएर गत बिहीबार नै एसपी कलम थापा गएपछि  र नयाँ आउने एसपी योगेन्द्रसिंह थापा कार्यभहाक समाल्न ढिलो आएको मौका छोपेर अहिल पनि तस्करी हुने गरेको छ । अहिले पनि सुनसरी प्रहरीका सादा पोशकका प्रहरी जवान सबाम मिया, रविन्द्र दनुवार र राम कुमार मेहताले महिनावारी असुली गर्ने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रशान फाटका प्रहरी निरीक्षक जयदेव माझीले सेटिङ्ग मिलाएपछि सीमा नाका इन्चार्ज पठाउने गरेको सुरक्षा निकायका स्रोतको भनाई छ । उनीहरुले प्रत्येक नाकादेखि तस्करसँग मासिक असुली गर्ने गरेका छन् । 

सुरक्षा स्रोतले दिएका जानकारी अनुसार तस्करी धन्दामा लागेका हाजी मरुन्दी, सरोज अन्सारी, सम्सेर अन्सारी र मनोज यादव, दुर्गा यादवदेखि मासिक असुली गर्दै आएका छन् ।  त्यसैगरी उल्टी नाका, भुटाहा नाकाबाट पनि रकम असुल्ने गरेको छ । उनीहरूले सरुवा भएका एसपी थापा  गएको र नयाँ एसपी सिंह आउन समय लाग्ने भएकोले तस्करी गर्न दिएर तस्करसँग अहिले पनि हप्ता असुली गर्ने गरेको स्रोतले जानकारी दिएको छ ।

यता सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कुमार कार्कीले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा प्रहरी टोली लागि परेको बताए । तस्करीजन्य गतिबिति रोक्न सीमा क्षेत्रमा कडा निगरानी गरिएको उनले बताए ।