विराटनगर / सुनसरीको सीमावर्ती क्षेत्रबाट भएको भनिएको चिनियाँ स्याउ तस्करी प्रकरणमा प्रदेश प्रहरी कार्यालय विराटनगरकै घुमुवा संलग्न रहेको खुलेको छ । प्रदेश प्रमुख डीआईजी मातहतको घुमुवा टोलीकै सहयोगमा तस्करी भएको आशंका भइरहेको समयमा यो विषयको खुलासा भएको हो ।

स्याउ तस्करी प्रकरणका विषयमा छानविन गर्न बनेको एसएसपी राजेन्द्र प्रसाद चौधरी नेतृत्वको समितिले तस्करीमा प्रदेश प्रहरी कार्यालयका घुमुवा नै संलग्न रहेको भन्दै उनीमाथि कारवाहीको सिफारिस गरेपछि यो विषय थप पेचिलो बनेको छ ।  

भारतीय प्रहरीले गत जेठ ३० गते नेपालबाट अवैध रुपमा गएको चाइनिज स्याउ बरामद गरेपछि यो विषयमा छानविन सुरु भएको थियो । तत्कालीन प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले सुनसरीका प्रहरी प्रमुख कमल थापालाई फसाउन खोजेको भनेर प्रहरी भित्रैबाट कुरा उठिरहेको समयमा तस्करीमा डीआईजी कार्यालयकै घुमुवाको संलग्नता खुलेको हो ।

तस्करीमा संलग्न रहेको भन्दै प्रदेश प्रहरी कार्यालयले  भाण्टावारीका इन्चार्ज प्रहरी नायब निरीक्षक गंगा थापा , श्रीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक टेक बहादुर कार्की र कोशी कटानका प्रहरी सहायक निरीक्षक आसनारायण माझीलाई निलम्बन गरी ती कार्यालयमा रहेका ३१ जना प्रहरीलाई फिर्ता बोलाएर छानविन गर्न समिति गठन गरेको थियो ।

छानविन समितिले तस्करीमा डीआइजीका घुमुवा टोलीका प्रहरी नायब निरीक्षक किरण मोक्तान सहितको संलग्न रहेको भन्दै उनीहरु माथि कारवाहीको सिफारिस गरेको छ  । छानविन समितिले तस्करीमा संलग्न देखिएको भन्दै मोक्तान सहित तिन प्रहरी माथि कारवाही गर्न सुझाव दिएको छ ।

प्रदेश प्रहरी कार्यालयमा बुझाएको प्रतिवेदनमा कल डिटेल सहित अन्य प्रमाणका आधारमा सुनसरीको श्रीपुर स्थित अस्थायी प्रहरी चौकीका असई टेकबहादुर कार्की र सुनसरीकै हरिपुर स्थित अस्थायी प्रहरी चौकीका असई भूपराज पोखरेल संलग्न रहेको भन्दै उनीहरु माथि कारवाही गर्न माग गरिएको छ ।

स्याउ तस्करीको विषय बाहिर आएपछि प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरीको पूर्वी मुख्यालय पकलीले छुट्टाछुट्टै छानबिन समिति बनाएका थिए ।

OM Sai Pathibhara Hospital

सशस्त्र प्रहरीका एसएसपी प्रकाश थापाको नेतृत्वको छानबिन समितिले बिओपी लौकहीका प्रमुख प्रहरी निरीक्षक महेश कार्कीको संलग्नता देखिएको भन्दै उनीमाथि कारवाही गर्न सिफारिस गरेको छ ।