काठमाडौं / नेकपा एमालेको ओली समुहको आइतबार बसेको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पेश भएको छ ।
बैठकमा सहभागि बहुसंख्यक नेताले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाललाई अध्यक्ष बनाएर भएपनि पार्टी एकता जोगाउन सुझाव दिएका छन् । नेता गुरुङले केही समय यता नेपाललाई प्रधानमन्त्री र अध्यक्ष मध्ये एक दिएर पार्टी एकता जोगाउनु पर्ने बताउँदै आएका छन् ।
बैठकमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई अध्यक्ष बनाएर भएपनि पार्टीलाई विभाजनबाट जोगाउन सुझाव दिएका थिए । उनले भने – ‘एकताकै लागि तपाईंले प्रचण्डलाई अध्यक्ष बनाएको होइन, वामदेवलाई विधान नै मिचेर उपाध्यक्ष बनाएको होइन ?, अहिले एकता आवश्यक छ , माधव नेपाललाई अध्यक्ष बनाउँदा पार्टी ठीक ठाउँमा आउँछ भने त्यो पनि गर्नु पर्छ ।’
नेता गुरुङको प्रस्तावको अन्य नेताले विरोध नगरेको र ओलीले समेत सो विषयमा मौनता साँधेको नेताहरूले बताएका छन् ।