काठमाण्डौ  / राजनीतिक संकट चुलिएका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरूले जनमत सङ्ग्रहमा अन्य दललाई सहमत गराउन राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् ।

नागरिक स्तरमा नै प्रदेश संरचना , हिन्दु राष्ट्र र राजसंस्थाका विषयमा छलफल भइरहेको समयमा विप्लव समुहले संघीयता र गणतन्त्रका विरोधमा उठ्न थालेको आवाजलाई सहयोग पुग्ने एजेन्डा बोकेर राजनीतिक छलफललाई तिव्रता दिएको हो । पछिल्लो समयमा व्यवस्थाकै विषयमा पुर्न बिचारको माग उठिरहेको समयमा विप्लव समूहले थालेको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ ।

संसद् विघटनका कारण मुलुकको राजनीति अस्थिर रहेको मौका छोपेर बिप्लप समुहका नेताले जनमत सङ्ग्रहको एजेन्डामा अन्य दललाई सहमत गराउन भेटघाट र छलफललाई तिव्रता दिएका हुन् ।

संसद् विघटन पछि वर्तमान राजनीतिक प्रणाली नै नेपालमा असफल भएको भन्दै विप्लव समुहले अन्य राजनीतिक दललाई संयुक्त सरकार निमार्ण गरी जनमत संग्रह गरेर राजनीतिक समस्याको समाधान गर्न माग गर्दै आएको छ ।

जनमत सङ्ग्रहका लागि अन्य दल मनाउने कोसिसमा रहेको विप्लव समुहका नेताले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

सो समुहका प्रभावशाली नेता धर्मेन्द्र बास्तोला र उदय बहादुर चलाउनेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरी संयुक्त सरकार र जनमत सङ्ग्रहको बाटोबाट अघि बढ्न आग्रह गरेका छन् ।

भेटका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता बास्तोलाले समसामयिक राजनीतिक, विषयमा छलफल भएको बताएका छन् । उनले प्रचण्डसँग आफ्नो दलले उठाउँदै आएका माग मुलुकको आवश्यकता बनेकाले संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद लगायतका विषयमा छलफल भएको बताएका छन्।

त्यसैगरी नेता बास्तोला र चलाउनेले यसअघि जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुरामलाई भेट गरी सोही विषयमा छलफल गरेका थिए । डा. भट्टराईसँगको भेटमा पनि जनमत सङ्ग्रहको एजेन्डाका विषयमा छलफल भएको नेता बाँस्तोलाले जानकारी गराएका छन् ।