बिर्तामोड / राष्ट्रिय उपभोक्ता मञ्चले कोरोना खोप अवैध रुपमा विक्रि भएको भन्दै कालोबजारीमा संलग्नहरूमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

मञ्चका अध्यक्ष पैमलाल महर्जनले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको पूर्वी नाकाबाट कोरोनाबिरुद्धको (कोभिशिल्ड) खोप अवैध रुपमा भित्र्याइ लुकिछिपी चर्को मूल्यमा बिक्री गर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

OM Sai Pathibhara Hospital

महर्जनले जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरूले समयमा दोस्रो खोप लगाउन नपाउँदा हतोत्साहित र निराश बनेको स्थितिमा अवैध रुपमा भित्र्याएर कालोबजारी हुन थालेको बताइएको छ । 

यसरी अवैध रुपमा भित्र्याइएको खोप ३ देखि ५ हजार रुपैयाँसम्म बिक्रीवितरण भइरहेको सूचना आएको मञ्चको भनाइ छ । सरकारी निकायबाटै खोपहरू गायब भएको आश्चर्यजनक समाचारहरू आइरहेको बेलामा केही अनुचित व्यापारिक कृयाकलाप गर्ने, जनस्वास्थ्यमाथि खोलवाड गर्ने भ्रष्ट मनस्थितिका व्यक्तिहरूले यस प्रकारको धन्दा गर्न थालेको मञ्चको आरोप छ ।

सरकारी संयन्त्रबाट नै खोप गायब भएको समाचार र भारतको बङ्गालमा नक्कली कोभिशिल्डको बजारमा बिक्री भइरहेको समाचारलाई विश्लेषण गर्दा यसमा सरकारको सक्रियता र सजगतामा कमी देखिएको छ,’ मञ्चले विज्ञप्तिमा भनेको छ ।   

मञ्चले सर्वसाधारण जनताको जनस्वास्थ्यमाथि खेलबाड भइरहेकोमा सरकारको ध्यानाकर्षण गर्दै तत्काल यसबारे सम्बन्धित सरकारी निकायबाट अध्ययन, अनुसन्धान तथा छानविन गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने वा मानव स्वास्थ्यमा खेलबाड गर्नेविरुद्ध कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।



Covishield_Vaccine_iO5hESphFz