काठमाडौँ / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी फुटाएर नयाँ दल स्थापना गर्ने पक्षमा नरहेको बताएका छन् । नेपाल समूहले छुट्टै दल स्थापना गर्ने अनुमान गरिएकै समयमा उनको यस्तो धारणा सार्वजनिक भएको हो ।
बानेश्वर स्थित लोत्से भवनमा राजनीतिक बिटका पत्रकारसँगको अन्तरक्रियामा बोल्दै उनले भने – म अलग्गै पार्टी दर्ता गर्ने तयारीमा छैन । पार्टीभित्रै विद्रोही भएर बस्ने छु । उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली विरुद्ध पार्टी भित्र डटेर संघर्ष गर्ने समेत बताएका छन् ।
ओलीको आलोचना गर्दै नेता नेपालले भने, ‘केपी ओलीलाई सत्ता बाहेक अरु केही पनि चाँहिदैन । बरु आफू बस्न नपाए प्रधानमन्त्रीको कुर्सी भाँचिदिन उहाँ तयार हुनुहुन्छ।’
नेकपामा पनि ओलीले आफू र प्रचण्डलाई जुधाउन र लडाउन ओलीले अनेक चालबाजी गरेको नेता नेपालले आरोप समेत लगाएका छन् । नेता नेपालले ओलीका कारण व्यवस्था माथि नै खतरा आएकाले आफूले संविधान, प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको पनि बताएका छन् ।
ओली परिवर्तन हुनेमा आफूलाई विश्वास नलागेको बताउँदै नेपालले भने – ओलीले ‘कोर्स करेक्सन’ गरेमा वा बुद्ध भएर निस्केमा उनलाई हामी स्विकार्ने छौं ।