राजविराज पेट्रोलियम पदार्थ बोकेको ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई बालिकाको मृत्यु भएको छ ।  सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा न –२ सीतापुरमा भएको सडक दुर्घटनामा परी मोटरसाइकलमा सवार थप तिन जना घाईते समेत बनेका छन् ।

पूर्वपश्चिम राजमार्गमा फरक फरक स्थानमा ना ७ ख ५४९५ नम्बरको ट्यांकरले दिएको ठक्करमा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई किलोमिटरको फरकमा एउटै ट्याङकरले ठक्कर दिएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सप्तरी प्रहरीले जानकारी गराएको छ ।

दुर्घटनामा परी स ११ प २५८५ नम्वरको मोटरसाइकलमा सवार रुपनी ३ कटैयाकी  ८ वर्षीया यसोधा कुमारी प्रमाणी र सोही ट्याङ्करको ठक्करमा चाँदनी चोकमा स २ प ५२४५ नम्बरको मोटरसाइकलमा सवार कंचनरुपघोघनपुरकी ७ वर्षीया सुमैया प्रविणको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दई किलोमिटर फरकको दूरीमा भएका दुर्घटनामा परी मोटरसाइकलमा सवार सुमनदेवी प्रमाणी , कुशुमलाल मण्डल र नविया प्रविण घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र मृतकको शवलाई पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको छ। टयाङ्कर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।