वीरगञ्ज / माओवादी केन्द्रबाट पार्टी परित्याग गरी एमालेको ओली समुहमा प्रवेश गरेकालाई निर्वाचन आयोगले पदमुक्त गरेकै भोलि पल्ट माओवादीबाट स्थानीय निकायको निर्वाचनमा गाउँपालिकाका अध्यक्षमा निर्वाचित मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् ।

निर्वाचन आयोगले दल परिवर्तन गरेका १४ जनप्रतिनिधिलाई शुक्रबार मात्रै पदमुक्त गरेको थियो । पदमुक्त भएको विषय सार्वजनिक भएकै भोलिपल्ट छिपहरमाई गाउँपालिकाका अध्यक्षमा निर्वाचित गुप्ता नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रबाट एमालेमा गएका नेता प्रभु साह निकट मानिएका गुप्तालाई दल त्यागसँगै ओली समूहले आफ्नो दलको जिल्ला कमिटी सचिव बनाएको छ । उनलाई माओवादी केन्द्रबाटै एमालेमा गएर प्रदेश कमिटी अध्यक्ष बनेकी ज्वालाकुमारी साहले जिल्ला कमिटीको सचिवमा मनोनयन गरेकी हुन् ।

गाउँपालिका अध्यक्ष गुप्ताले पनि आफूले माओवादी केन्द्र परित्याग गरेको जनाएका छन् । उनले पदमुक्त भएपनि जनताको सेवामा आफू सकृय रहने बताएका छन् ।

स्मरण रहोस् , राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कुनै जनप्रतिनिधिले पार्टी परित्याग गरेमा निर्वाचित भएको पद रिक्त हुने कानुनी व्यवस्था रहेको छ ।