काठमाडौं / नेपाली कांग्रेसको आगामी भदौमा हुने चौधौं महाधिवेशनबाट पार्टीको नेतृत्व हत्याउन वर्तमान सभापति शेर बहादुर देउवा ईतरका प्रभावशाली नेता एक ठाउँमा उभिने प्रकृया सुरु भएको छ ।
देउवाले उम्मेद्वारी घोषणा गरेसँगै सभापतिका आकांक्षी दोस्रो तहका नेताले एक भएर महाधिवेशनमा जान गृहकार्य थालेका छन् ।
महाधिवेशनका विषयमा शुक्रबार महामन्त्री महामन्त्री डा. शशांक कोइरालाको निवासमा भएको छलफलमा सभापतिका आकांक्षी तिन नेताले महाधिवेशनमा एउटै गठबन्धन बनाएर जाने विषयमा छलफल प्रारम्भ भएको बताएसँगै देउवा बाहेकको गठबन्धन बन्ने सम्भावना बढेको हो ।
छलफलमा सहभागि उपसभापति विमलेन्द्र निधि, महामन्त्री कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच एउटै गठबन्धन बनाएर महाधिवेशनमा जाने विषयमा छलफल प्रारम्भ भएको नेताहरूले बताएका छन् । देउवा बाहेकका नेताको छलफलले नेतृत्व सहित गठबन्धनको टुङ्गो लगाउने तिन नेता बिच सहमति भएको छ ।
छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति निधिले कार्यकर्ताको चाहना नेतृत्व परिवर्तन भएकाले त्यसका लागि आफूहरूले तयारी थालेको बताएका छन् । निधिले नेतृत्वका विषयमा दोस्रो तहका नेताबीच समन्वय भइरहेको समेत जानकारी गराएका छन् ।
छलफलमा सहभागि अर्का नेता सिंहले पनि महाधिवेशनमा एउटै टिम बनाएर जाने विषयमा सुरु भएको छलफल सकारात्मक दिशामा अघि बढेको जनाएका छन् । उनले नेतृत्व सहित गठबन्धनका विषयमा नै निर्णय हुने र त्यसैका लागि छलफल अघि बढाइएको बताएका छन् ।
छलफलका विषयमा स्पष्ट पार्दै सिंहले भने – ‘सँगै जानेबारे समय आएपछि हुन्छ । एक/दुई सिटिङमा नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई हामी निरन्तरता दिनेछौं ।’
कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेल र डा. शेखर कोइरालाले पनि आफू निकट पार्टी नेतासँग नेतृत्वका विषयमा छलफल गरिरहेका छन् ।
सभापति शेरबहादुर देउवाले नेतृत्वमा दावी गरेपछि सभापतिका आकांक्षी रामचन्द्र पौडेल , प्रकाशमान सिंह , डा. शेखर कोइराला , डा. शसांक कोइराला र विमलेन्द्र निधिले पनि सभापतिमा दावी गर्दै छलफल अघि बढाएपछि शसांक कोइरालाको अगुवाइमा देउवा इतरको गठबन्धन बनाउन पहल सुरु भएको हो ।