बिर्तामोड / निर्वाचन आयोगले दल परिवर्तन गरी अर्को दलमा प्रवेश गरेकालाई पदमुक्त गरेपछि रौतहटको मौलापुर नगरपालिका मेयर र उपमेयर विहीन नगरपालीका भएको छ ।
माओवादी केन्द्रबाट एमालेको ओली समुहमा प्रवेश गरेका मेयर र उपमेयर दुवैलाई आयोगले पदमुक्त गरेको हो । मौलापुरको मेयर रीनाकुमारी साह र उपमेयर गौरीशंकर प्रसाद थिए। नेकपा विभाजन पछि दुवै जना माओवादी केन्द्र छाडेर एमालेको ओली समुहमा गएका थिए । मेयर रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमति हुन् । उनी पति प्रभु सँगै माओवादी छाडेर एमालेको ओली समुहमा गएकी थिईन् ।
त्यसैगरी निर्वाचन आयोगले माओवादी केन्द्रबाट ओली समुहमा प्रवेश गरेका थप एक मेयर र ४ उपमेयरसहित १२ जनप्रतिनिधिलाई पनि पदमुक्त गरेको छ ।
स्थानिय तहको निर्वाचनमा आफ्नो दलबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पार्टीले कारवाही गरेको भनेर निर्वाचन आयोगलाई जानकारी गराएको थियो । सम्वन्धित दलको सिफारीसमा दल परिवर्तन गरेका १४ जनप्रतिनिधी पदमुक्त भएको जनाएको छ ।
आयोगका अनुसार रौतहटको कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहा पनि पदमुक्त भएका छन् । रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, , फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार महोत्तरीको सम्सी गाउँपालिका प्रमुख शेष फारूक र रौतहटको यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ।
माओवादीले जनप्रतिनीधिले दल त्याग गरेको जानकारी आयोगलाई गराएकाले उनीहरु पदमुक्त भएको जनाएको छ ।