विराटनगर / प्रदेश एकको राजधानी समेत रहेको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।

महानगरपालिकाको आठौं नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी छन् ।

बजेटमा पूँजीगत खर्च तर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार रुपैयाँ  , प्रशासनिक खर्च तर्फ ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ रुपैयाँ र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५ सय , सङ्घसंस्थाबाट १ करोड ४४ लाख र जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान गरिएको छ ।

बजेटमा पूर्वाधार विकासका लागि २ अर्ब ४ करोड ३९ लाख ४८ हजार रुपैयाँ , आर्थिक क्षेत्रका लागि १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख र सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

क्रमागत योजनाको लागि २५ करोड ३५ लाख, शिक्षाका लागि ५५ करोड ७७ लाख, युवा तथा खेलकुद १ करोड ६१ लाख, स्वास्थ्य १८ करोड १ लाख र विपद् व्यवस्थापनमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २३ करोड ३ लाख रुपैयाँको आय अनुमान गरिएको भएपनि पछिल्लो १० महिनामा १ अरब ४४ करोड ९९ लाख रुपैयाँ मात्र आम्दानी भएको छ । सोही अवधिमा ३ अर्ब ६३ करोड पुँजीगत खर्च हुने अनुमान गरिए पनि ८८ करोड मात्र खर्च भएको छ । यो वर्ष ९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरिएपनि १० महिनाको अवधिमा ३१ करोड ३८ लाख रुपैयाँ मात्र आम्दानी भएको छ ।