एजेन्सी / अमेरिकाले क्युबामाथि लगाएको नाकाबन्दीको विरोधमा यो वर्ष पनि १८४ मुलुक उभिएका छन् । बुधबार संयुक्त राष्ट्रसङ्घमा नाकाबन्दी हटाउनका लागि भएको मतदानमा नेपालसहित विश्वका १८४ देशले मतदान गरेका छन् ।

अमेरिकी नाकाबन्दीको विरोधमा अमेरिकालाई नाकाबन्दी हटाउन दवाव दिदैं संयुक्त राष्ट्र संघमा सन् १९९२ देखि यो प्रस्ताव पारित हुँदै आएको छ । सन् २०१९ मा भएको मतदानमा १८७ देशले क्युवामाथिको नाकाबन्दी हटाउन माग गरेका थिए ।

अमेरिकाले लामो समयदेखि छिमेकी मुलुक क्युबामाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । विश्वका अधिकांश देशले नाकाबन्दी फुकुवा गर्नु पर्ने माग गरे पनि अमेरिकाले भने आफ्नो अडानमा परिवर्तन ल्याएको छैन ।  

बुधवार भएको मतदानमा नाकाबन्दी हटाउनु पर्ने प्रस्तावको पक्षमा नेपालसहितका १८४ देशले मतदान गरे भने अमेरिका र इजरायलले भने विपक्षमा मत दिएका छन् । यस पटक भएको मतदानमा कोलम्बिया, युक्रेन र ब्राजिल भने अनुपस्थित भएका छन् ।

कम्युनिष्ट शासन रहेको मुलुक क्युबामा मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि भन्दै अमेरिकाले विगत लामो समय देखि नाकाबन्दी लगाउँदै आएको छ ।