बिर्तामोड / सरकारले रोजगारमा नरहेका नागरिकलाई लक्षित गरेर ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेटमार्फत  १३ अर्ब ४० करोड रुपैयाँ बिनियोजन गरेको छ । रोजगार गुमाएका र बेरोजगार गरी  ३ लाख २५ हजार जनालाई रोजगारी दिन सरकारले बजेट बिनियोजन गरेको हो ।

गत वर्ष सर्वाधिक आलोचना भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारलाई न्यनतम एक सय दिन रोजगारी सुनिश्चित गर्न भन्दै सरकारले बजेट बिनियोजन गरेको छ ।

स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ, प्रदेश र स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगारलाई काममा लगाउने सरकारी निती रहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छुट्टाइएको रकममध्ये ९ अर्ब ८१ करोड ३९ लाख ८१ हजार रुपैयाँ देशभरका स्थानीय तहमा रोजगारी प्रदान गर्नका लागि खर्च गरिने र बाँकी २ अर्ब १८ करोड ६० लाख १९ हजार आन्तरिक खर्चमा प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आगामी वर्षका लागि ५५ वटा स्थानीय तह बाहेकका स्थानीय तहलाई बेरोजगार सङ्ख्याको आधारमा ३ अर्ब ६७ करोड ५४ लाख रुपैयाँ बजेट निकासा गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नेपाल सरकारबाट ३ अर्ब ३५ करोड ६ लाख ५१ हजार र विश्व बैंकबाट २ अर्ब ७८ करोड ७८ लाख ३० हजार रुपैयाँ वित्तीय हस्तान्तरण भएको श्रम मन्त्रालयले जानकारी गराएको छ ।

आगामी वर्षका लागि ७ लाख ८ हजार ३ सय २८ जना बेरोजगार सूचिकृत भएको भए पनि १ लाख ६४ हजार ६ सय १६ जनालाई मात्रै रोजगारी दिन सकिने मन्त्रालयले जनाएको छ ।

त्यसमा नेपाल सरकारको रकमबाट १ लाख १८ हजार ९२ जना र विश्व बैंकबाट प्राप्त रकमबाट ४६ हजार ५ सय २४ जनाले रोजगारी पाउने मन्त्रालयको भनाइ छ ।

कार्यक्रम अन्तरगत विदेशबाट फर्किएका र स्वदेशमै रोजगारी गुमाएकालाई हस्तकला, सिकर्मी, डकर्मी, कुक, सिलाइ कटाइ लगायत विभिन्न सीपमुलक तालिमको लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको र तालिमबाट थप एक लाखलाई रोजगारी प्रदान हुने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सीपमुलक तालिमको व्यवस्था गर्न उत्पादन मूलक उद्योगमा प्रशिक्षार्थी कामदारलाई खटाउने र सो समयमा ३ महिनाको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन बजेट विनियोजन भएको छ । सो तालिमको लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । तालिम लिएकालाई  २ वर्षसम्मको रोजगारीको व्यवस्था मिलाइने मन्त्रालयले जानकारी गराएको छ । 


OM Sai Pathibhara Hospital