काठमाण्डौ / सामाजिक संजाल फेसबुक र युट्युवमा पशुपंछीको आवाज सहितका भिडिओ सामाग्री प्रस्तुत गर्दै आएकी सन्तोषी सुब्बाको हत्या भएको छ । काठमाण्डौको दक्षिणकालीमा भेटिएको शव सुब्बाको भएको प्रहरीले पुष्टि गरेको छ ।

बुधवार विहान दक्षिणकाली परिषरको शौचालयमा उनको विभत्स शव भेटिएको थियो ।  काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा चर्चामा रहेकी सुब्बाको भएको पुष्टि भएको बताएका छन् ।

शौचालयमा भेटिएको सुब्बाको टाउकोमा गहिरो चोट र अनुहार पनि क्षतविक्षत रहेको प्रहरीले जानकारी गराएको छ । विभत्स शव भेटिए लगत्तै प्रहरीले त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञसहितको टोली घटनास्थलमा नै लगेर शवको परिक्षण गराएको छ ।

हत्याको अनुशन्धानमा खटिएको प्रहरी टोलीले सुब्बा गर्भवती रहेको र हत्याको कारण सोहि  हुनसक्ने अनुमान गरेको छ । हत्यामा संलग्नको पहिचानका लागि सीआईवी र अपराध अनुशन्धान महाशाखाका छुट्टा छुट्टै टोलीले अनुशन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अनुशन्धानमा तालिम प्राप्त कुकुर समेत प्रहरीले परिचालन गरेको छ ।