बिर्तामोड / सर्वोच्च अदालतको आदेशका कारण पछिल्लो पटक सङ्घीय सरकारमा मधेशी जनताको माग पुरा भएको भन्दै आफ्नो दल नै विभाजन गरी सहभागि बनेको जसपाको महन्त ठाकुर–राजेन्द्र महतो समूहका नेताको राजनीतिक भविष्य नै सङ्कटमा पर्ने भएको छ ।
मन्त्री बनेको १८ दिनमा नै पद गुमाएका उनीहरूको राजनीतिक भविष्य सर्वोच्चको आदेश सँगै सङ्कटमा परेको हो । सर्वोच्चको आदेशमा पदमुक्त भएका उनीहरु माथि सामाजिक सञ्जालमा यसरी व्यङ्ग्य हुन थालेको छ – धोवीका कुत्ता घरका न घाटका ।
पार्टी नै फुटाएर सरकारमा पुगेका राजेन्द्र महतो र लक्ष्मण लाल कर्ण सहितका नेतालाई सर्वोच्चको आदेशले धोबीको कुत्ता घर न घाटका बनाइदिएको हो । आफ्नो दल समेत गुमाएर सरकारमा पुगेका उनीहरूको भविष्य सर्वोच्चको आदेशसँगै बेहाल भएको छ ।
मधेशी जनताको केही माग पुरा भएको र केही पुरा गर्ने भन्दै सरकारमा सहभागि बनेका उनीहरूको मुख्य माग नागरिकता अध्यादेश सर्वोच्चकै आदेशमा खारेज भएपछि सङ्कटमा परेका थिए । सङ्कटमा परेका उनीहरूलाई लक्षित गरे जसरी फेरि सर्वोच्चले पदमुक्त गर्ने आदेश दिएपछि उनीहरु घरका न घाटका भएका हुन् ।
मधेसी जनताको अधिकार पुरा भएको भन्दै संवैधानिक प्रक्रिया मिचेर घोषणा गरिएको निर्वाचनमा सरकारी संयन्त्र उपयोग गर्ने सपना देखेर सरकारमा पुगेका उनीहरूले आफ्ना मागसँगै पद नै गुमाउनु परेको हो ।
जसपा फुटाएर सरकारमा गएका राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण लगायतको भविष्य सङ्कटमा परेपनि सो समूहले सर्वोच्चको पछिल्लो फैसलाका विषयमा आफ्नो समुहको आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । पदमुक्त भएका मन्त्री कर्णले आफ्नो समूहसँग सर्वोच्चको आदेश मान्नुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।