बिर्तामोड / सशस्त्र प्रहरीको भावी आईजीपी एवं महानिरीक्षक बन्ने दौडमा रोचक लाग्ने गरी आन्तरिक खेल सुरु भएको छ । भावी आईजीपीको दौडमा रहेका डिआइजी प्रवीण श्रेष्ठले १५ दिनका लागि मात्रै सो पदमा पुग्नका लागि दौडधुप थालेपछि प्रतिष्पर्धाको खेल रोचक बनेको हो ।

डिआइजीमा नै अवकाश हुने भएका श्रेष्ठले आईजीपी बन्न कै लागि आफ्नो पदावधि थपका लागि राजनीतिक नेतृत्व गुहार्न थालेपछि यो विषयलाई लिएर शसस्त्र प्रहरीको नेतृत्वमा नै खटपट समेत सुरु भएको छ ।

OM Sai Pathibhara Hospital

हालका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको पदावधि नथप्ने प्रयास गरेपछि आन्तरिक विवाद सुरु भएको थियो । राजनीतिक शक्ति केन्द्रको दबाबमा उनीहरु आफ्नो पदावधि थप गर्न सफल बनेसँगै डीआईजी श्रेष्ठले आफ्नो पनि पदावधि थप्न शक्ति केन्द्र गुहार्न थालेका हुन् ।

सशस्त्र प्रहरी नियमावलीमा डिआइजीको पदावधि ४ वर्ष हुने र एक वर्ष थप्न सकिने व्यवस्था छ । उनी बाहेक अन्यको पदावधि थप भएकाले उनी समेत पदावधि थप गराउन सकृय बनेका छन्  । डिआइजी श्रेष्ठको पदावधि थपले संगठनको भावी नेतृत्वमै उथलपुथल गर्ने भएकाले यो विषय पेचिलो  बनेको छ ।

पदावधि थप भए श्रेष्ठ भावी आइजीपीका दाबेदार हुने छन् । पदावधि थप भए आउने बैशाखमा आइजीपी हुने श्रेष्ठलाई रोक्न शसस्त्र भित्रबाटै अवरोध भइरहेको गृहमन्त्रालय स्रोतले जानकारी गराएको छ । डीआईजी श्रेष्ठको पदावधि थप भए उनी मात्रै १५ दिनका लागि आईजीपी हुने छन् । १५ दिनका लागि मात्रै आईजीपी बनाउने गरी पदावधि थप गर्न नहुने भन्दै संगठन भित्रबाटै गृह मन्त्रालयमा दवाव दिएपछि उनको पदावधि थप गर्ने विषयमा निर्णय हुन नसकेको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

स्रोत भन्छ – पदावधि नथप्दा उनी अन्यायमा पर्ने छन् , थप गर्दा १५ दिनका लागि मात्रै आईजीपी हुने छन् । त्यही भएर उनको विषयमा निर्णय गर्न मन्त्रालयलाई समेत समस्या भएको छ ।

हालका महानिरीक्षक खनालको आगामी चैतको अन्तिम साता पदावधि सकिदै छ ।  उनको अवकाश पछि मात्रै तिन साताका लागि एआईजी पुष्पराम केसी आइजीपी बन्ने छन् । केसीको अवकाश पछि डीआईजी श्रेष्ठ महानिरीक्षक बन्ने छन् । भारतीय दुतावास सँगको अनौठो सम्बन्धका कारण संगठन भित्र श्रेष्ठ आलोचित पात्र समेत हुन् ।

श्रेष्ठलाई आईजीपी बन्न बाट रोकेको अवस्थामा उनीभन्दा जुनियर  राजु अर्याल, चन्द्रप्रकाश गौतम र नारायणदत्त पौडेल मध्ये एकजना आईजीपी बन्ने छन् ।हालका महानिरीक्षक खनाल भने अन्यको पदावधि थप भएको कारण देखाउँदै श्रेष्ठको समेत पदावधि थप गरेर दुई साताका लागि मात्र भएपनि उनलाई आईजीपी बनाउने दौडमा रहेका छन् ।  

सशस्त्र प्रहरी भित्रको यो आईजीपीको दौडका कारण प्रधानमन्त्री र गृहमन्त्री समेतलाई निर्णय गर्न समस्या भएको मन्त्रालय स्रोतले जानकारी गराएको छ । स्रोतले केही दिन भित्रमा नै यो पेचिलो विषयमा निर्णय आउने जानकारी गराएको छ ।

डीआईजी श्रेष्ठको पदावधि थप भए खनाल पछिका दुई आईजीपीले एक महिना भन्दा कम समय मात्रै काम गर्न पाउने छन् । श्रेष्ठको पदावधि थप नभएको अवस्थामा केसी तिन सातका लागि आईजीपी हुने छन् भने श्रेष्ठ भन्दा पछिल्लो ब्याचका एक जनाले सशस्त्र प्रहरीको नेतृत्व करिव डेढ वर्षका लागि सम्हाल्न पाउने छन् ।