काठमाडौँ  / यो वर्ष मनसुनको सुरुवातमै परेको पानीले ठूलो क्षति भएको छ । मनसुनको सुरुवातमै परेको पानीले देशका पहाडी तथा तराईका विभिन्न भु–भागमा बाढी, पहिरो र डुवानले जनधनको ठूलो भएको हो । 

गृह मन्त्रालयले असारको सुरुवातमै परेको पानीले ठूलो क्षति भएको भन्दै बाढी, पहिरोको जोखिम भएको स्थानमा बसोवास गर्ने सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।  

OM Sai Pathibhara Hospital

विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढी, पहिरोका कारण पछिल्ला १० वर्षमा १ हजार ७ सय ४१ जनाको ज्यान गएको छ । जसमा ९ सय २५ जना पहिरोमा पुरिएर र ७ सय जनाभन्दा बढी बाढीमा डुबेर मृत्यु भएको छ ।

यसअघि सरकारले २०७४ मा बाढी पहिरोजन्य जोखिम कम गर्न भन्दै नयाँ रणनीति तय गरेको थियो। जसमा सन् २०३० सम्म बाढीपहिरोको जोखिम पूर्ण कम गर्ने उद्देश्य राखिए पनि बाढीपहिरोको क्षति बर्सेनि बढ्दो छ । 

यो वर्ष पनि बाढी पहिरोको बढी जोखिम देखिने गृह मन्त्रालयको विपद् प्रतिकार्यको योजनामा उल्लेख छ । भारी वर्षाका कारण धेरै क्षेत्रमा असर पर्ने भएकोले ७७ वटै जिल्लाका सुरक्षा निकाय र जिल्ला प्रशासनलाई गृहले विपदमा जुट्नको लागि तयार रहन निर्देशन दिएको छ ।

सबै जिल्लामा बढी बाढी पहिरो गएको क्षेत्र पहिचान गरी प्रतिवेदन पेश गर्न पनि गृहले जिल्ला प्रमुख कार्यालयलाई निर्देशन दिएको छ ।  विपद व्यवस्थापन महाशाखा प्रमुख गोविन्द रिजालले यो वर्ष पूर्व तयारी बलियो बनाउन आवश्यक रहेको बताए । 

उनले भने, ‘गत वर्ष भन्दा यो वर्ष वर्षा बढी हुने जानकारी अनुसार हामीले व्यवस्थित तयारी गरेका छौं, तर साधनस्रोत पुग्दो छैन, ठूलो क्षति भयो भने हामीले थेग्न नसक्ने पनि हुनसक्छ, जोखिम क्षेत्रहरूमा बढी सतर्कता अपनाइएको छ ।’ उनका अनुसार विपद् रोकथाम गर्नको लागि माग गरे बमोजिम बजेट पनि उपलब्ध गराएको छ ।