काठमाण्डौ / महामारी र प्राकृतिक प्रकोपको चपेटामा मरेका सर्वसाधारणलाई सांसदले नै म्याद गुज्रिएको औषधी वितरण गरेको सार्वजनिक भएको छ ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्ना क्षेत्रका जनतालाई म्याद गुज्रिएको औषधी वितरण गरेको सार्वजनिक भएको हो ।

OM Sai Pathibhara Hospital

गोरखा २ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका सांसद दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा रहेका बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी स्वास्थ्य चौकी, रन्चोक स्वास्थ्य चौकी र स्वारा स्वास्थ्य चौकीलाई समेत म्याद गुज्रिएको औषधी दिएको सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका सांसद दवाडीले म्याद गुज्रेको औषधी वितरण गरेर आफ्नै निर्वाचन क्षेत्रका जनताको स्वास्थ्यमाथि खेलवाड गरेका हुन् ।  

म्याद गुज्रेको औषधी बेचविखन र वितरण अपराध मानिन्छ । तर सांसद दवाडीले नै म्याद गुज्रिएको औषधी वितरण गरेको विषयमा भने सरकारी निकायले भने मौनता साँधेका छन् ।

दवाडीले वितरण गरेका औषधी मध्ये वीरगन्जको नेशनल हेल्थ केयर प्रा. ली. को  ‘मेट्रोनिड डिएफ’ लगायतका औषधी म्याद म्याद गुज्रिएको पाइएको हो । मेट्रोनिड डिएफ बालबालिकालाई पखालामा प्रयोग गरिने औषधी हो । मेट्रोन डिएफ औषधीको लेभलमा उत्पादन भएको मिति मे २०१९ रहेको छ भने अप्रिलमा म्याद सकिने उल्लेख छ ।

दवाडीले वितरण गरेको अर्को औषधी बालबालिकाकै लागि रुघाखोकीमा प्रयोग गरिने टस्सिभ –डी नामको औषधी पनि म्याद गुज्रिएको नै रहेको छ । यो औषधीको उत्पादन मिति मार्च २०१९ रहेको छ भने म्याद सकिने मिति २०२१ फेब्रुअरी रहेको छ ।

बालबालिकाका लागि वितरण भएका औषधी म्याद सकिएका हुनाले ती औषधीले स्वास्थ्यमा हानी गर्ने चिकित्सकले बताएका छन् । म्याद गुज्रिएका औषधीले रगतमा अनेकौं प्रकारका रोग लाग्ने उनीहरूले बताएका छन् ।

सुलिकोट गाउँपालिका गोरखाका अध्यक्ष विष्णु प्रसाद भट्टले भने आफुहरुलाई थाहा नै नदिई औषधी वितरण भएको प्रतिक्रिया दिएका छन् । उनले राहत वितरण गाउँपालिकाको एकद्वार वितरण प्रणालीबाट हुनु पर्ने भएपनि दवाडीले त्यसो नगरेकाले आफूलाई त्यो विषयमा थाहा नरहेको बताएका हुन् ।  

गाउँपालिकाका स्वास्थ्य प्रमुख मोदराज भट्टले दवाडीले वितरण गरेको औषधी म्याद सकिएको पाइएको बताएका छन् । उनले गाउँमा वितरण भएको म्याद सकिएका औषधी संकलन गरेर नष्ट गरिने बताएका छन् ।

राहत वितरण गर्दै गरेको भिडिओमा सांसद दवाडीले  ‘रुघा खोकी लाग्यो भने यो खाँदा हुन्छ है’ भन्दै म्याद सकिएको औषधी वितरण गर्दै गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ ।