काठमाडौं / नेकपा माओवादी केन्द्रले ४० वर्ष मुनिका युवालाई प्रथमिकता दिएर नयाँ केन्द्रय सदस्यहरु थप्ने तयारी थालेको छ । केन्द्रीय समितिमा ९९ सदस्य थप्ने भएको हो ।
पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने भएको छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुनेछ ।
संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवका अनुसार २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको हो ।
केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उनले जानकारी दिए । कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको उनको भनाई छ ।
उनका अनुसार अब नयाँ सदस्य थप्ने क्रममा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिइने भएको हो ।
यस्तै हाल केन्द्रीय समितिमा क—कसलाई थप्ने भनेर हाल माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।
केन्द्रीय समिति टुङ्गो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुङ्गो लाग्ने छ । तत्कालीन नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २ सय जना थिए । सर्वोच्चले एमाले र माओवादीको एकता बदर गरिदिएपछि माओवादीका २०० केन्द्रीय सदस्यहरुमध्ये १८ जना एमालेमा गएका छन् ।
रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरी शंकर चौधरीलगायतका नेताहरु एमाले प्रवेश गरी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।