काठमाडौं / नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दिएको जानकारी अनुसार शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै उनको निधन भएको हो ।
भेन्टिलेटरमा उपचार भैरहेको बिष्टलाई कोरोना पुष्टि भएको थियो । बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
उनी २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सुर्खेत ३ बाट निर्वाचित भएका थिए। २०७४ जेठमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चार राज्यमन्त्री भएका थिए ।
बिष्टको निधनमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।