बिर्तामोड / नेपालका तराईका जिल्ला र भारतको विहारमा भएका दर्जनौं अपराधका घटनामा संलग्न मानिएका आरके यादव भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।

नेपाल र भारतका विभिन्न ठाउँमा बसेर आपराधिक गिरोह सञ्चालन गर्दै आएका यादव नयाँ दिल्लीबाट पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हत्या, चोरी, डकैती, अपहरण र लुटपाटका दर्जनौं घटनामा संलग्न मानिएका उनको लामो समयदेखि नेपाल र भारतका प्रहरीले खोजी गर्दै आएका थिए ।

सिरहाको झिजोलका स्थानीय सामोननाथ यादवको अपहरण र फिरौती मागेको घटनामा आरके यादव कै गिरोह संलग्न रहेको नेपाल प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो । सोही गिरोहका सदस्य उमेश यादवलाई भने यसअघि नै पक्राउ गर्न नेपाल प्रहरी सफल बनेको थियो । सो घटनामा संलग्न रहेको अभियोगमा भारतको मधुबनीका सतिश यादव समेत सोही समयमा पक्राउ परेका थिए । पक्राउ परेका आरके यादवलाई मस्ट वान्टेड अपराधीको सुचीमा राखेर भारतीय प्रहरीले समेत उनको खोजी गरिरहेको थियो ।

आरके गिरोहले फिरौतीका लागि अपहरण गरी सामोननाथ यादवलाई बेपत्ता बनाएको थियो । अपहरणमा परेका सामोननाथ यादवलाई आरके यादवको समूहले अपहरण पछि हत्या गरेर उनको शव कोशी नदीमा फ्याँकेको यसअघि नै अनुसन्धानका क्रममा खुलेको थियो ।

पक्राउ परेका आरके नेपाल र भारतका विभिन्न ठाउँमा भएका दर्जनौं हत्या, अपहरण, डकैती र बम बिस्फोटनका घटनामा संलग्न मानिदै आएको छ ।

दुई नम्बर प्रदेश प्रहरी कार्यालयले पनि यादव पक्राउ परेको पुष्टि गरेको छ । भारतको नयाँ दिल्लीबाट आरके पक्राउ परेको जानकारी आएको कार्यालयले जनाएको छ । उनको पक्राउले तराईका जिल्लामा हुने गरेका आपराधिक घटनामा कमी आउने प्रहरीले बताएको छ । 

OM Sai Pathibhara Hospital